कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन


कञ्चनपुर, २९ चैत । देशभर एकैसाथ आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० जना परिचालन हुने भएका छन् । जिल्लाको आर्थिक अवस्था, उद्योग-व्यवसायको वास्तविक सङ्ख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्न आर्थिक गणना हुनलागेको हो ।

आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक गणना अधिकारी दानबहादुर ऐडीका अनुसार भीमदत्त नगरपालिकामा २० गणक परिचालन हुनेछन् भने दोधारा चाँदनी नगरपालिकामा चार गणकलाई खटाउन तयारी गरिएको छ ।

बेदकोट नगरपालिका र शुक्लाफाँट नगरपालिमामा पाँच जनाका दरले गणकलाई खटाइने छन् भने कृष्णपुर नगरपालिकामा चार, लालझाडी गाउँपालिकामा दुई, बेलडाँडी गाउँपालिकामा दुई, बेलौरी नगरपालिकामा पाँच र पुर्नवास नगरपालिकामा छ जनालाई खटाइने छ । आठ जना गणक बराबर एक जना सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था गरिएको अधिकारी ऐडीले जानकारी दिए ।

“गणकहरू र सुपरीवेक्षक छनोटको कार्य पूरा भएको छ”, अधिकृत ऐडीले भने, “छनोट गरिएका गणक र सुपरीपेक्षकलाई गणना कसरी गर्ने, तथ्याङ्क कसरी सङ्कलन गर्ने, प्रश्नावली कसरी भर्ने तथा व्यवसायीहरूसँग कसरी समन्वय गर्ने भन्ने विषयमा आवश्यक तालिम दिने कार्य भइरहेको छ ।”

जिल्लाका विभिन्न पालिकामा रहेका व्यापार–व्यवसायको सङ्ख्या र घनत्वका आधारमा गणक र सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए । आर्थिक गणनाका क्रममा गणकहरूले पसल, उद्योग, संस्था, सेवा व्यवसाय तथा अन्य आर्थिक एकाइमा पुगेर विवरण सङ्कलन गर्नेछन् ।

मुख्य रूपमा व्यवसायमा गरिएको लगानी, रोजगारीको अवस्था, वार्षिक आम्दानी(खर्च, उत्पादन तथा सेवा प्रवाह, ऋण तथा बीमाको अवस्थालगायतका विवरण सङ्कलन गरिनेछ । हरेक पाँच वर्षमा गरिने यो गणना वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

हालसम्म जिल्लास्तरमा र पालिकास्तरमा आर्थिक गणनाबारे अन्तक्र्रिया तथा सचेतना गोष्ठी कार्यक्रम सम्पन्न भइसकेको अधिकारी ऐडीले जानकारी दिए । उनका अनुसार आर्थिक गणना भनेको सञ्चालनमा रहेका वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान तथा व्यवसाय (आर्थिक एकाइ)मा पुगेर तिनको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन तथा वितरण गर्ने समष्टिगत प्रक्रिया हो ।

नेपालमा पहिलो आर्थिक गणना २०७५ मा सम्पन्न भएको थियो भने दोस्रो आर्थिक गणना आव २०८२र८३ मा सञ्चालन हुनलागेको हो । जिल्ला आर्थिक कार्यालयका गणक सन्तोषबहादुर सिंहका अनुसार यस गणनाबाट प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गरिनेछ । साथै देशमा रहेका प्रतिष्ठानको सङ्ख्या, अर्थतन्त्रका क्षेत्रगत संरचना, आकार तथा वितरणसम्बन्धी तथ्याङ्क उत्पादन हुनेछ ।

कुल गार्हस्थ्य उत्पादन (जिडीपी) तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई सुदृढ बनाउन आवश्यक आधारभूत तथ्याङ्क उत्पादन हुनेछ । “आर्थिक सर्वेक्षणका लागि नमूना छनोट फ्रेम तयार गर्न पनि आर्थिक गणनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ”, गणक सिंहले भने, “तथ्याङ्कीय व्यावसायिक रजिस्टर निर्माण तथा अद्यावधिक गर्न पनि आर्थिक गणनाले आधार प्रदान गर्नेछ ।”

आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसाय समेटिनेछन् । आर्थिक गणना स्थलगत रूपमा सञ्चालन गरिनेछ । गणक तथा सुपरीवेक्षकले व्यवसायस्थलमै पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् । यस गणनामा मुख्य रूपमा दुई प्रकारका प्रश्नावली प्रयोग गरिनेछ ।

पहिलो सूचीकरण फाराम, जसमा सबै प्रतिष्ठान तथा व्यवसायको संक्षिप्त विवरण सङ्कलन गरिनेछ । दोस्रो मुख्य प्रश्नावली, जसमा सूचीकरण भइसकेका प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिनेछ । मुख्य प्रश्नावलीका विवरण इ-सेन्सस प्रणालीमार्फत व्यवसायी आफैँले भर्न सक्ने व्यवस्था रहेको छ भने कागजी प्रश्नावलीमार्फत गणकले पनि विवरण सङ्कलन गर्नेछन् ।

जिल्ला आर्थिक गणना कार्यालय कञ्चनपुरले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई गणकहरू आफ्नो व्यवसाय स्थलमा आउँदा सही तथा तथ्यपरक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।

शुक्लाफाँटामा क्षयरोगी बढे

शुक्लाफाँटा नगरपालिकामा फोक्सोसम्बन्धी क्षयरोग (टिबी)का बिरामीको सङ्ख्या बढ्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोको क्षयरोग पुष्टि भएको थियो । सोही अवधिमा फोक्सोबाहेक शरीरका अन्य अङ्गमा क्षयरोग देखिएका २० जना बिरामीको उपचार गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार गत वर्ष ११ जनामा उपचारपछि पुनः क्षयरोग बल्झिएको थियो । चालु आवमा हालसम्म फोक्सोको क्षयरोगबाट प्रभावित आठ महिला र २१ पुरुष गरी २९ जना उपचाररत छन् । यस्तै अन्य अङ्गमा सङ्क्रमण देखिएका तीन महिला र १० पुरुष गरी १३ जना उपचारमा छन् भने पाँच जना बिरामीमा पुनः रोग बल्झिएको अवस्थामा विशेष निगरानीमा उपचार भइरहेको उनले जानकारी दिए ।

शाखा प्रमुख भट्टका अनुसार क्षयरोग ‘माइकोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक जीवाणुका कारण हुने सङ्क्रामक रोग हो । जुन मुख्यतः हावामार्फत सर्ने गर्दछ, सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा निस्कने सुक्ष्म कणमार्फत यो रोग स्वस्थ व्यक्तिमा सर्ने गर्दछ । भीडभाडयुक्त स्थान, कमजोर प्रतिरक्षा प्रणाली तथा कुपोषण भएका व्यक्तिमा यसको जोखिम बढी रहने उनले बताए ।

उनका अनुसार यस रोगका प्रमुख लक्षणमा दुई हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खोकीसँग रगत आउनु, साँझपख ज्वरो आउनु, राति पसिना आउनु, छाती दुख्नु, तौल घट्नु र भोक कम हुनु रहेका छन् । यस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन उनले सुझाव दिएका छन् ।

क्षयरोगको पहिचानका लागि खकार परीक्षण, एक्स-रे तथा प्रयोगशाला परीक्षण गरिन्छ । समयमै पहिचान गरी छदेखि नौ महिनासम्म नियमित औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको पार्न सकिन्छ । तर, औषधि बीचमै छोडेमा रोग झन् जटिल बन्ने जोखिम हुने भएकाले पूरा उपचार लिन उनले आग्रह गरेका छन् ।

नगरपालिकाले बिरामीको सहज पहुँचका लागि बन्साह, पिताम्बर, झलारी, पिपलाडी र वन समिति गरी पाँच स्थानमा डट्स केन्द्र सञ्चालनमा ल्याएको छ । ती केन्द्रहरूबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि वितरण, खकार परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको छ ।

सरकारले सन् २०५० सम्म ‘क्षयरोग मुक्त नेपाल’ बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य हासिल गर्न समयमै पहिचान, नियमित उपचार र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिइएको छ । स्वास्थ्यकर्मीले क्षयरोग नियन्त्रणका लागि सबै नागरिकलाई सचेत रहन र लक्षण देखिएमा ढिलाइ नगरी परीक्षण गराउन आग्रह गरेका छन् । रासस