तानाशाही र अधिनायकवादी कदम चाल्दै जाने हो भने बालेन सरकार सफल हुँदैनः वरिष्ठ पत्रकार विरही


काठमाडौं, २९ चैत । वरिष्ठ पत्रकार हरिहर विरहीले प्रधानमन्त्री बालेन्द्र शाहको उदय अचानक, चमत्कारिक ढंगले र कुनै दन्त्यकथाको नायकको जस्तो रुपमा प्रकट भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै वरिष्ठ पत्रकार विरहीले नेपालको इतिहासमा मात्रै नभएर विश्वमा नै विरलै प्राप्त हुने अवसर बालेनले पाएको बताएका हुन् ।

वरिष्ठ पत्रकार विरहीले निर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री, त्यो पनि दुई तिहाइ मत पाएको प्रधानमन्त्री र अचानक रुपमा आशा जगाएर आएको नयाँ पुस्ताको नेताको व्यवहार लोकतान्त्रिक हुनुपर्ने उनले बताए ।

जनताबाट टाढिने, जनतासित सम्पर्क नगर्ने, जनताका सवालहरुको जवाफ नदिने, जनतालाई सम्बोधित नगर्ने र सीमित घेरामा मात्रै बसेर काम गर्ने प्रवृत्तिले लोकतन्त्रमा त्यस्तो नेता सफल हुन नसक्ने उनले बताए । प्रधानमन्त्री शाहको व्यवहारले उनी सफल हुन सक्छन् भन्ने आशा नजगाएको वरिष्ठ पत्रकार विरहीले बताए ।

बालेन आउँदाखेरी मानिसमा रहेको आशा र उत्साहलाई सरकारले निरन्तरता दिन नसकेको उनले बताए । साथै, सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिने सरकारको निर्णयलाई उनले आत्मघाती कमदको संज्ञा दिए । निजी सञ्चार माध्यमलाई विज्ञापन नदिने भन्ने सर्कूलर देशको प्रधानमन्त्रीको तहबाट जसरी जारी भयो, सूचनाका स्रोतहरुलाई अवरुद्ध गर्ने दिशामा कसैले पनि प्रयत्न गर्न हुँदैन । अहिले देशमा पत्रपत्रिकाहरुको अत्यन्त नाजुक अवस्था छ । बाँच्न नसक्ने अवस्था छ । यो घातक काम हो, सरकारले यसलाई सच्याउनुपर्छ ।

साथै, दलगत विद्यार्थी संगठन खारेज, कर्मचारीको ट्रेड युनियनहरु खारेजीको तर्फ सरकार अगाडि बढेकोमा उनले दुःख व्यक्त गरे । वरिष्ठ पत्रकार विहरीले यो सम्भव नरहेको बताए । आफूले मात्रै शासन गर्न पाए हुन्थ्यो, कसैले अवरोध नगरे हुन्थ्यो भन्ने सोचबाट सरकार अगाडि बढ्न खोजेको उनले बताए । लोकतन्त्रको अभिन्न अंगको रुपमा रहेका संघ संस्थाहरु आवश्यक रहेको उनले बताए । विद्यार्थी संगठनहरुको विगतका भूमिकाहरु भने सन्तोषजनक नरहेको उनले बताए । ट्रेड युनियनहरु पनि आफ्नो स्वार्थमा मात्रै लिप्त रहेको र यी संस्थाहरुमा सुधारको खाँचो रहेको पनि वरिष्ठ पत्रकार विरहीले बताए । संघ संस्थाहरुले विगतमा गल्ती गरे भन्दैमा एउटा सूचना जारी गरेको भरमा बन्द गर्न खोज्नुलाई उनले तानाशाही र अधिनायकवादी मानसिकताको संज्ञा दिए ।

‘यो तानाशाही र अधिनायकवादी मानसिकता भएकाहरुले चाल्ने कदम हो । अहिलेको यो लोकतान्त्रिक युगमा यस्ता आदेश निर्देशनको कार्यान्वयन गर्न सम्भव छैन,’ उनले भने ।