काठमाडौं, चैत २९ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले आस्था र धर्ममाथीको प्रहारबारे प्रश्न उठाउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथी तिखो टिप्पणी गरेका छन् । दूधकोशी, अरुण र तमोरको त्रिवेणी तथा उदयपुर, धनकुटा र भोजपुरको सिमानामा रहेको खुवालुङ (ढुंगो) लाई क्रेन लगाएर फुटाउँछु भनेकै दिनदेखि ओलीको पतन सुरु भएको टिप्पणी गर्दै उनले अरुको आस्थामाथि प्रहार गरेर राजनीति गर्न नसकिने जनाएका छन् ।
उनले लेखेका छन्, ‘मलाई लाग्छ केपी ओलिको पतन खुवालुङलाई क्रेन लगाएर फुटाउँछुू भनेको दिन देखि नै भएको हो ! अरुको आस्था माथि प्रहार गरेर राजनीति त के एउटा सानो संस्था चलाउन नि सकिन्न ! सबैले सिकौँ !’
सांसद राईले आज बिहानै समाजिक सञ्जाल फेसबुकमा आफू व्यक्तिगत रूपमा ‘मरेको धेरै भइसकेको’ र बाँकी जीवन देशको सेवामा अर्पण गरेको उल्लेख गरेका थिए ।
८ फागुन २०८२ विराटनगरमा आयोजित सभामा तत्कालीन प्रधानमन्त्री ओलीले किराती समुदायको आस्थाको केन्द्र खुवालुङलाई क्रेन प्रयोग गरेर फुटाउने घोषणा गरेका थिए ।। उनले भनेका थिए, ‘स्टिमर चढेर चतराबाट एघार मिनेटमै भोजपुर पुग्न र भोजपुरबाट एघार मिनेटमै चतरा फर्किन बाधा बनेको एउटा ढुङ्गो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दैछौं।’
उक्त अभिव्यक्तिपछि किराती समुदाय गम्भीर रूपमा आन्दोलित भएको थियो भने खुवालुङको विषय राष्ट्रिय बहसमा आएको थियो । पछि २०८२ माघ २१ गते निर्वाचन प्रचारप्रसारका क्रममा ओलीले फुटाउने घोषणा गरेको खुवालुङमा पुगेर वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल रहेको धारणा राखेका थिए।
उनले मुन्धुममा खुवालुङलाई ‘सभ्यताको द्वार’ मानिने बताउँदै मुन्धुम पाठ तथा जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक रहेको र यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्धलाई झल्काउँनेबारे धारणा राखेपछि खुवालुङ थप चर्चामा आएको थियो ।





प्रतिक्रिया