काठमाडौं, २९ चैत । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले देशभर धान र कोदोको बिउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारी खेती गर्ने अत्यन्त संवेदनशील समयमा देशभर रासायनिक मल चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्र बहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै तुरुन् मल आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न, दीर्घकालीन रूपमा मलको समस्या समाधान गर्ने ठोस योजना तर्जुमा गरी लागू गर्न र उपलब्ध मललाई साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा योजनाबद्धरूपले वितरण गर्न सरकारसँग माग गरेका छन् ।
‘हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तर्फबाट नवनिर्वाचित तथा शक्तिशाली सरकारलाई तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न, दीर्घकालीन रूपमा मलको समस्या समाधान गर्ने ठोस योजना तर्जुमा गरी लागु गर्न र उपलब्ध मललाई साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा योजनाबद्धरूपले वितरण गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र कालोबजारीबाट चर्को मूल्यमा मल किन्न बाध्य हुनु देशको दुर्भाग्य हुन पुगेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को ठहर रहेको छ ।




प्रतिक्रिया