काठमाडौं, चैत ३० । पर्साको वीरगन्जमा एक प्रहरी जवानको कुटपिटबाट बीभत्स हत्या भएको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–९ मा प्रहरी जवान विकास चौरसिया सामूहिक कुटपिटबाट मारिएका हुन्। उनी सप्तरी दरबन्दी भई बिदामा घर आएका थिए ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवकहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरेका थिए । सूचना पाउनासाथ केही मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरेको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । पर्सा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ ।
हत्याको पछाडि प्रेम सम्बन्ध मुख्य कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृतक प्रहरी जवानको कुनै एक महिलासँग प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि, घटनाको पूर्ण विवरण र हत्याको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया