देश लङ्का बनिसकेको बास्कोटाको व्यङ्ग्य, भने-डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारी पहेँलपुर


काठमाडौं, चैत ३० । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा देश लङ्का बनिसकेको व्यङ्ग्य गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तितर्फ लक्षित गर्दै डाँडाभरि लालीगुराँस फुल्नेबेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा समृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ,डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।सम्वृद्दी आएछ -सुशासन त्यहिबाट आरम्भ भै हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे,त्यो दुर भएछ-झिक्कै झिक्कै मया तम्लाई!’