कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, के छ छलफलको विषय ?


काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकांक्षी रहेका छन् ।

कतिपयले नयाँ पुस्ताबाट संसदीय दलको नेता चयन हुनुपर्ने भन्दै निस्कल राईको नाम पनि अघि सारेका छन् । शीर्ष तहका नेताहरुले सर्वसम्मत् संसदीय दलको नेता चयन गर्ने गरी छलफल भइरहेको जानकारी गराएका छन् ।

बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔं अभियान’ लगायतका विषयमा पनि छलफल हुने जानकारी गराइएको छ ।

कांग्रेसले नयाँ वर्षको पहिलो दिनदेखि देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने योजना छ ।