नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’


गण्डकी, ३० चैत । हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक घुम्टे । पछिल्लो समय नयाँ वर्ष पारेर ‘गुराँस उत्सव’ गर्न थालिएपछि घुम्टेको थप प्रचार भइरहेको छ । यसपालि पनि नयाँ वर्ष २०८३ का अवसरमा यहाँ १४औँ संस्करणको ‘गुराँस उत्सव’ आयोजना हुँदैछ । घुम्टे पर्यटन विकास केन्द्रले २०७० सालदेखि उत्सवसहित पर्यटन प्रवर्द्धनका काम गर्दै आएको छ ।

केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले नयाँ वर्षको अवसरमा आज र मङ्गलबार घुम्टेमा विविध कार्यक्रम गर्न लागिएको बताए । तीन हजार ३२० मिटर उचाइमा रहेको घुम्टे लेकबाट नयाँ वर्षलाई स्वागत गरिने उनको भनाइ छ । ‘गुराँस उत्सव’ले प्रकृतिप्रेमी पर्यटक लोभ्याउने गरेको छ ।  विशेषगरी आन्तरिक पर्यटकले घुम्टेलाई नयाँ वर्षको गन्तव्य बनाउन थालेका छन् । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर यो उत्सव हुँदै आएको छ ।

घुम्टेको पर्यटन प्रवर्द्धनर राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको अध्यक्ष बस्नेतले बताए । “यस वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि पनि घुम्टे उपयुक्त गन्तव्य हो”, उनले भने “यहाँ फुल्ने रङ्गीचङ्गी गुराँस र प्राकृतिक सौन्दर्यले जोकोहीलाई आकर्षित गर्छ ।”

घुम्टेको घना वन क्षेत्रमा दर्जनौँ प्रजातिका गुराँस फुल्ने गर्छन् । अध्यक्ष बस्नेतका अनुसार बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन पुग्ने पर्यटकले पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको अनुभव बटुल्न पाउनेछन् । नयाँ वर्षको पहिलो दिन मङ्गलबार सुर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिकोे प्रर्दशनीसहित मूल समारोहको आयोजना गरिने भएको छ ।

यसपालि घुम्टेमा विश्वशान्ति यज्ञको समेत आयोजना गरिएको गलकोट नगरपालिका–७ मल्का वडाध्यक्ष राज थापाले बताए । “विश्वशान्तिको कामना गर्दै २७ लाख दीप प्रज्ज्वलनसहित पाठपारायणसहित धार्मिक अनुष्ठान सञ्चालन हुनेछ”, उनले भने, “घुम्टेको धुरीमा रहेका प्रसिद्ध सिद्ध र भैरव मन्दिरमा विशेष पूजापाठसमेत हुनेछ ।” गलकोट पण्डित समाजसँगको सहकार्यमा विश्वशान्ति यज्ञको आयोजना गरिएको हो ।

घुम्टे पर्यटन विकास केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवर्द्धन सुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्त्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा ‘गुराँस उत्सव’ले टेवा पुर्याएको वडाध्यक्ष थापाले बताए ।

घुमफिरमा जाने पर्यटकसँगै त्यहाँ रहेका सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको लागि जाने भक्तजन पनि उत्तिकै हुन्छन् । घुम्टेमा पूजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको जनाएको छ । यो क्षेत्र गण्डकी प्रदेशको पर्यटकीय सूचीमा पनि सूचीकृत रहेको गन्तव्यस्थल हो ।

तीनै तहका सरकारसहित स्थानीयवासीको सहयोग र श्रमदानमा घुम्टेमा मन्दिर पुनर्निर्माण, पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टेमा वैशाखे पूर्णिमामा परम्परागत मेला लाग्दै आएको छ । उक्त मेला भर्न हजारौँ पर्यटक तथा भक्तजन घुम्टे चढ्छन् । पौराणिक कालमा पाण्डवहरूले घुम्टेमा तपस्या गरेको जनश्रुती पाइन्छ ।रासस