काठमाडौँ, १ वैशाख । संस्कृतिविद् डा जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताएका छन् ।
नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको संवादमा प्राज्ञ गुरुङले विक्रम संवत् विक्रमादित्यभन्दा पुरानो समयदेखि चलेको बताउँदै यी संवत् र परम्पराहरु विज्ञानसम्मत भएको तर्क गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहनुभएका गुरुङले नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिने उल्लेख गरे । वसन्त ऋतुको समय भएकाले बिरुवा उम्रने र पालुवाहरु पलाउने समय पनि भएकाले प्रकृतिले पनि नयाँपन पाउने सुन्दर समय भएको उनले बताए ।
“सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी पृथ्वीको उत्तरी गोलार्धमा पुगेर मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत संवत् हो । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले यो वैज्ञानिकतामा आधारित छ”, डा गुरुङले भने ।
डा गुरुङसँगको संवाद राससको भिडियो सेवाबाट उपलब्ध हुनेछ । रासस




प्रतिक्रिया