यस्तो छ बिहारका नयाँ मुख्यमन्त्री सम्राट चौधरीको राजनीतिक यात्रा…


काठमाडौँ। भारतको बिहार राज्यमा नयाँ नेतृत्व उदाएको छ। भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीको शपथ खाएका हुन् ।

उनको नियुक्तिसँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग अन्त्यतर्फ गएको रूपमा विश्लेषण गरिएको छ। ५७ वर्षीय चौधरीले राज्यपाल सैयद अता हसनैनबाट शपथ ग्रहण गरेका हुन्। उनी भाजपा नेतृत्वमा बिहारको पहिलो मुख्यमन्त्री बनेका छन्।

सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ। उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट राजनीति सुरु गरेका थिए। पछि सन् २०१८ मा भाजपा मा प्रवेश गरे।

सन् २०२३ मा उनलाई भाजपा बिहार प्रदेश अध्यक्ष बनाइयो भने २०२४ मा उपमुख्यमन्त्रीको जिम्मेवारी दिइएको थियो। त्यसपछि उनी राज्यको प्रमुख नेतृत्वमा पुगेका हुन्।

सन् १९६८ मा जन्मिएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका हुन् । उनका पिता शकुनी चौधरी तारापुर क्षेत्रबाट छ पटक विधायक निर्वाचित भएका थिए भने आमा पार्वती देवीले पनि सोही क्षेत्रबाट चुनाव जितेकी थिइन्।

पहिले नितिश कुमारका कट्टर आलोचक रहेका चौधरी २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि नयाँ भूमिकामा देखिएका थिए। उनले सार्वजनिक रूपमा नितिशलाई सत्ताबाट हटाएपछि मात्रै आफ्नो ‘मुरेथा’ (पगडी) उतार्ने बताएका थिए, जसले उनको आक्रामक राजनीतिक शैली देखाउँछ।

उनको उदयलाई केवल सत्ता परिवर्तन मात्र नभई सामाजिक–राजनीतिक रणनीतिक कदमका रूपमा पनि हेरिएको छ। विशेषगरी ओबीसी समुदाय, खासगरी कोइरीरकुशवाहा समूहमा प्रभाव विस्तार गर्ने लक्ष्यसँग उनको नेतृत्व जोडिएको विश्लेषण गरिएको छ।