काठमाडौँ, २ वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । कुल १९ खर्ब ६४ अर्ब बजेटमध्ये चैत मसान्तसम्म १० खर्ब ५९ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खर्चको ठूलो हिस्सा चालु खर्चतर्फ गएको छ, जहाँ ११ खर्ब ८० अर्बमध्ये ७ खर्ब ४७ अर्ब खर्च भइसकेको छ । दैनिक प्रशासनिक तथा नियमित कार्यमा केन्द्रित हुने चालु खर्चले दीर्घकालीन प्रतिफल नदिने भएकाले यसको हिस्सा उच्च रहेको देखिन्छ । यता पुँजीगत खर्च भने अपेक्षाकृत कमजोर रहेको छ ।
४ खर्ब ७ अर्ब विनियोजन गरिएको पुँजीगत बजेटमध्ये हालसम्म ९६ अर्ब १९ करोड मात्र खर्च भएको छ, जुन कुलको २३.५८ प्रतिशत हो । मध्यपूर्वमा देखिएको तनावका कारण निर्माण सामग्री विशेषगरी बिटुमिन इन्धन अभावले विकास निर्माण प्रभावित भएको बताइएको छ ।
साथै, सार्वजनिक ऋण व्यवस्थापनतर्फ छुट्टाइएको ३ खर्ब ७५ अर्बमध्ये २ खर्ब १६ अर्ब खर्च भइसकेको छ । यसै अवधिमा सरकारले कुल ९ खर्ब ७ अर्ब आम्दानी गरेको छ भने राजस्वबाट ८ खर्ब ८६ अर्ब संकलन भएको छ ।




प्रतिक्रिया