म्याग्दी, २ वैशाख । धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
कुल रु ५४ लाख ३६ हजार ४२ को लागतमा निर्माण भएको आयोजनाबाट ८९ वटा धारामार्फत घरघरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको हो । ८६ निजी घर, विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रासबहादुर छन्त्यालले जानकारी दिए ।
उनका अनुसार नेवा संस्थाको रु २६ लाख ९९ हजार ८४, गाउँपालिकाको रु १९ लाख २५ हजार १११ लगानी भएको योजना निर्माणका लागि उपभोक्ताले रु एक लाख ५७ हजार ९३० नगद लगानी र रु छ लाख ५३ हजार ९१७ बराबरको श्रमदान गरेका छन् ।
मल्कवाङमा यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । आँगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ । धवलागिरि गाउँपालिका–५ को मल्कवाङ, मलम्पार र भेडिखाल्टा टोलका एक सय ८५ घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।




प्रतिक्रिया