जेद्दाह । अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन् ।
गत साता पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । सोही वार्ताको जगमा रहेर सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा अमेरिका-इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका विदेशमन्त्री इशाक दारसहितका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।
मध्यपूर्वी तनाव र कूटनीतिक पहल
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयका अनुसार सरिफले ‘क्षेत्रीय अवस्था’ र अमेरिका-इरान तनावबारे साउदी राजकुमार (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानसँग विशेष छलफल गर्नेछन् । साउदी अरबपछि उनी कतार र टर्कीको भ्रमणमा निस्कनेछन् । टर्कीमा उनले ‘अन्टाल्या कूटनीति मञ्च’मा भाग लिनुका साथै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध भड्किएको थियो । इरानले बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूलाई निशाना बनाउनुका साथै ऊर्जा निर्यातमा अवरोध गरेपछि विश्वभर तेलको मूल्य अकासिएको छ ।
यही युद्ध अन्त्य गर्ने प्रयासस्वरूप इस्लामावाद वार्ता सुरु भएको हो । पहिलो चरणको वार्ताबाट ठोस निष्कर्ष ननिस्के पनि दुवै पक्षलाई संवादको टेबलमा ल्याउनुलाई ठूलो प्रगतिका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविराम घोषणा गर्दै वार्ता यसै हप्ता इस्लामावादमा पुनः सुरु हुन सक्ने संकेत गरेका छन् । अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम भने हालसम्म जारी छ ।
सेना प्रमुख इरानमा, साउदीबाट ८ अर्ब डलरको आर्थिक राहत
एकातिर प्रधानमन्त्री सरिफ साउदी अरबमा छन् भने अर्कोतिर पाकिस्तानी सेना प्रमुख असिम मुनिरको नेतृत्वमा एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल इरान पुगेको छ । मुनिरलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा स्वागत गरेका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार सेना प्रमुख मुनिर वासिङ्टनको ‘नयाँ सन्देश’ बोकेर दोस्रो चरणको वार्ताबारे छलफल गर्न त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्रीको साउदी भ्रमणकै बीच सङ्कटग्रस्त पाकिस्तानी अर्थतन्त्रले रियादबाट ठूलो आर्थिक राहत पाएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले बुधबार साउदी अरबले पाकिस्तानको विदेशी मुद्रा भण्डार बढाउन ३ अर्ब डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
यसका साथै, साउदीले पाकिस्तानको केन्द्रीय बैंकमा यसअघि नै राखेको ५ अर्ब डलर बराबरको निक्षेपको म्याद पनि अनिश्चित कालका लागि थप गरिदिएको छ । पाकिस्तानले यूएईको अर्बौं डलर ऋण तिर्ने बताएको केही दिनमै साउदीबाट यो प्याकेज प्राप्त भएको हो । एएफपी




प्रतिक्रिया