इजिप्ट । अमेरिका र हमासबिच गाजामा भएको युद्धविरामपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको छ । स्रोतहरूका अनुसार यो वार्ता अमेरिकी मध्यस्थतामा भएको नाजुक सहमति अगाडि बढाउने प्रयास स्वरूप गरिएको हो ।
मंगलबार राति कायरोमा अमेरिकी वरिष्ठ सल्लाहकार आर्य लाइटस्टोनको नेतृत्वको टोलीले हमासका प्रमुख वार्ताकार खलिल अल–हय्यासँग भेट गरेको बताइएको छ । लाइटस्टोनसँगै गाजाका लागि ‘बोर्ड अफ पिस’का उच्च प्रतिनिधि निकोले म्लाडेनोभ पनि वार्तामा सहभागी थिए ।
वार्ताका क्रममा अल–हय्याले इजरायलले युद्धविरामको पहिलो चरणअन्तर्गत गरेका हवाई आक्रमण रोक्ने र मानवीय सहायता बढाउने जस्ता प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
यसपछि मात्रै अर्को चरणमा अघि बढ्न सकिने उनले बताएका छन् । गत अक्टोबरमा भएको युद्धविरामले गाजामा दुई वर्ष लामो युद्ध अन्त्य गरे पनि विशेष गरी हमासको शासन वा सुरक्षा भूमिका लगायत क्षेत्रको भविष्यबारे महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् । हाल हमासले गाजाको केही भागमा पुनः नियन्त्रण कायम गरेको छ भने इजरायली सेनाले बेला बेलामा आक्रमण जारी राखेको छ ।
यसैबिच, लाइट स्टोनले हालै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग भेट गरी इजरायललाई पहिलो चरणका सर्तहरू पूरा गर्न आग्रह गरेका थिए । स्रोतहरूका अनुसार हमासले निःशस्त्रीकरण गर्न सहमति जनाएमा मात्र इजरायलले ती सर्तहरू पूर्ण रूपमा लागू गर्ने सङ्केत दिएको छ ।
अर्को, चरणका वार्ताहरूमा हमासको निःशस्त्रीकरण, गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालन र इजरायली सेना फिर्ता गर्ने विषय समेटिएको छ । तर हमासले पहिले इजरायलले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने अडान लिएको छ, जसका कारण वार्ता पटक–पटक अवरुद्ध हुँदै आएको छ ।




प्रतिक्रिया