बाँकेमा व्यावसायिक बसन्ते मकैखेती


राँझा (बाँके), ३ वैशाख । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा बसन्ते मकैखेती भइरहेको छ । राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्थामार्फत ४६ हेक्टर र खजुरामा खजुरा लिफ्ट सिँचाइ जल उपभोक्ता समूहमार्फत १० हेक्टरमा व्यावसायिक रुपमै बसन्ते मकैखेती भइरहेको छ । डुडुवा र नेपालगञ्जका किसानले पनि खेती सुरु गरेका छन् ।

“बसन्ते मकै उत्पादन हुनासाथ दाना उद्योगले खेतबाटै उठाउने भएकोले बिक्रीमा समस्या छैन, किसानले नगदे बालीका रुपमा यसलाई उपयोग गर्न थालेका छन्”, सूचना अधिकारी पाठकले भने , “कृषि ज्ञान केन्द्रले सिञ्चत क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत बसन्ते मकैखेती गर्ने किसानलाई बीउ र प्राविधिक सहयोग गरिरहेको छ, यसमा किसानको आकर्षण बढ्दै गएको छ ।”

कृषि ज्ञान केन्द्रले बसन्ते मकैखेती गर्ने किसानलाई मकै छोडाउने यन्त्र, फौजी किरा नष्ट गर्न सुरक्षित विषादी प्रयोगलगायतका तालिम दिँदै आएको पाठकले बताए । किसानले उत्पादन क्षमता बढी भएको भारतीय बीउ प्रयोग गर्दै आएका छन् ।

कम मेहनत र लगानीबाट राम्रो मुनाफा हुने भएकाले यसतर्फ धेरै किसान आकर्षित भएको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताए ।

“मकैखेती वर्षमा तीन पटकसम्म गर्न सकिने भएकाले अन्य बालीभन्दा बढी आयआर्जन गर्न सकिन्छ । यसमा पानी कम लाग्छ, रोग–कीरा कम लाग्छ र दैनिक धेरै मिहिनेत पनि आवश्यक पर्दैन”, वलीले भने, “मकैको डाँठ पशु चौपायाका लागि घाँसमा खपत हुने भएकाले दोहोरो रूपमा उपयोग गर्न सकिन्छ, कम जोखिम, राम्रो आम्दानी र दिगो सम्भावनाले मकैखेती बाँकेका किसानहरूको रोजाइ बन्दै गएको छ ।”

किसानको सहजताको लागि सहकारीले बसन्ते मकैखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रको सहयोग तथा समन्वयमा बीउ, यन्त्र र प्राविधिक सहयोग तथा बजारीकरणको लागि काम गरिरहेको उनको भनाइ छ । रासस