वासिङ्टन, ३ वैशाख । मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावबीच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पारेका छन् । उनका अनुसार खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्छ र योग्यताका आधारमा इरानले प्रतियोगितामा भाग लिन पाउनु अनिवार्य छ ।
सिएनबिसीद्वारा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै इन्फान्टिनोले इरानको सहभागितामा कुनै अन्योल नरहेको बताए । “इरान निश्चित रूपमा विश्वकपमा आउँछ । हामी आशा गर्छौं कि त्यसबेलासम्म परिस्थिति शान्त हुनेछ, जसले सबैका लागि सहज बनाउनेछ”, उनले भने । साथै उनले इरानी टोलीले आफ्ना नागरिकको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूलाई खेल्नबाट रोक्न नहुने धारणा व्यक्त गरे ।
यसअघि पनि उनले मार्च महिनामा टर्कीको अन्टाल्यामा भएको इरान र कोस्टा रिकाबीचको मैत्रीपूर्ण खेलका क्रममा यस्तै धारणा सार्वजनिक गरेका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खेलाडीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै उनीहरू अमेरिका भ्रमणमा सुरक्षित नहुन सक्ने सङ्केत दिएका थिए ।
तालिकाअनुसार इरानले आफ्नो समूह ‘जी’ अन्तर्गतका तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्नेछ, जसमा दुई खेल लस एन्जलसमा र एक खेल सिएटलमा हुनेछ । टोलीको आधार शिविर एरिजोनाको टक्सनमा रहने तय गरिएको छ ।
संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले सह–आयोजना गर्ने यस विश्वकपमा इरानको सहभागिता फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण अन्योलमा परेको थियो । त्यसक्रममा इरानले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गर्न आग्रहसमेत गरेको थियो, तर फिफाले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।
क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायल र अन्य देशहरूसँग इरानको हवाई आक्रमण र प्रतिशोधका घटनाहरू केही हप्तासम्म जारी रहे । अन्ततः अप्रिल ८ मा एक नाजुक युद्धविराम लागू भएको थियो । यद्यपि, इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेको छ भने अमेरिकाले इरानी बन्दरगाहसँग सम्बन्धित जहाजहरूमा अवरोध लगाउन सुरु गरेको छ ।
यस जटिल अवस्थाबीच पनि इन्फान्टिनोले खेलकुदले पुलको काम गर्नुपर्ने बताए । “खेलकुद राजनीतिभन्दा बाहिर हुनुपर्छ । यदि कसैले पुल निर्माण गरेर सम्बन्ध जोड्ने काम नगरे, हामी त्यसका लागि प्रयासरत छौँ”, उनले जोड दिए ।
पहिलोपटक ४८ टोली सहभागी हुने यस विश्वकप जुन ११ देखि सुरु हुँदैछ, जहाँ विश्वभरका टोलीहरूबीच प्रतिस्पर्धा हुने तयारी भइरहेको छ । रासस




प्रतिक्रिया