एम्बुलेन्सको ठक्करबाट हजुरबुबा र नातीको मृत्यु, हजुरआमासहित दुई जना गम्भीर घाइते


काठमाडौं, वैशाख ६ । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार कोहलपुरबाट राजापुर जाँदै गरेको  बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको हो ।

ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका ८ वर्षीय नाति रिहान्स खरेलको ज्यान गएको छ । एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते भएका छन् । उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक गेरुवा गाउँपालिका–५ का ४३ वर्षीय जगतराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।