दोधारा चाँदनी (कञ्चनपुर), ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
“कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो”, ढकालले भने, “सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।” उनले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा आफूले लगानी गरेको बताए ।
“सुदूरपश्चिममा जहाँ हेर्यो त्यहीँ सम्भावना छ, त्यसकारण यहाँको सबैभन्दा ठूलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ”, अध्यक्ष ढकालले भने, “यसले सुदूरपश्चिमको मात्रै नभई मुलुमकै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउने छ ।” उनले इमान्दारिताका साथ काम गरे प्रतिफल आउने विश्वास व्यक्त गरे । सुदूरपश्चिमबाट छिमेकी मुलुक भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसको फाइदा पनि सुदूरपश्चिमलाई रहेको उनले बताए ।
“यहाँको बडिमालिका, रामारोशन जस्ता धार्मिक पर्यटकीय गन्तव्य छन्”, ढकालले भने, “अब पर्यटकीय पूर्वाधारमा पनि लगानी हुनुपर्छ ।” उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गरिरहेको बताए । रासस




प्रतिक्रिया