स्ट्रेट अफ होर्मुज लगातार तेस्रो दिन पनि सुनसान


काठमाडौँ । पश्चिम एसियाको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक स्ट्रेट अफ होर्मुज लगातार तेस्रो दिन पनि लगभग सुनसान बनेको छ । 

इरान र अमेरिकाबिच जहाज आवतजावतबारे बढ्दो विवादका कारण यो अवस्था आएको हो । समुद्री ट्र्याकिङ प्लेटफर्म मरिन ट्राफिकका अनुसार सोमबारसम्म केही जहाज मात्र उक्त जलमार्ग पार गरेका छन् ।

पछिल्ला केही घण्टामा तीन वटा जहाज खाडी क्षेत्रमा प्रवेश गरेको देखिए पनि तीमध्ये दुई वटा ट्याङ्कर खाली अवस्थामा रहेको उल्लेख छ । त्यसैगरी, सोमबार बिहान एउटा तेलले भरिएको ट्याङ्कर जलडमरूमध्य पार गर्दै बाहिरिएको थियो ।

“नोभा क्रेस्ट” नामक उक्त जहाज टर्की अपरेटरद्वारा सञ्चालन हुँदै आएको छ र यसले यस महिनाको सुरुमै इराकको बन्दरगाह छाडेको थियो । यसअघि रूसी तेल ढुवानी गरेको आरोपमा यस जहाजलाई बेलायत र युरोपेली सङ्घले प्रतिबन्धसमेत लगाएका थिए ।

तनाव झन् बढेको शनिबार, इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पुनः स्ट्रेट बन्द गरिएको घोषणा गरेपछि १३ वटा जहाज आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएका थिए । 

यो तथ्याङ्क समुद्री खुफिया संस्था विन्डवार्डले दिएको हो । त्यसै दिन एक कन्टेनर जहाजमाथि गोली प्रहार भएको र अन्य दुई जहाजले पनि गोली चलाइएको रिपोर्ट आएको थियो । त्यसको प्रभाव स्वरूप आइतबार कुनै पनि ट्याङ्करले उक्त जलमार्ग पार नगरेको देखिएको छ ।

यद्यपि विश्लेषकहरूका अनुसार सबै जहाजहरूले आफ्नो लोकेसन सार्वजनिक नगर्ने भएकाले वास्तविक सङ्ख्या अझ फरक हुन सक्छ । रेडियोमार्फत धम्की दिइएमा जहाजहरूले तत्काल आफ्नो यात्रा रद्द गरी फर्किनु उपयुक्त हुने समुद्री सुरक्षा परामर्शदाता एम्ब्रेले सोमबार चेतावनी जारी गर्दै भनेको थियो । यसबिच केही व्यावसायिक जहाजहरूले आईआरजीसी नौसेनाबाट “अगाडि नबढ्न” निर्देशन पाएको रिपोर्ट गरेका छन्।