कार्गो जहाज तत्कालै रिहा गर्न इरानको माग


तेहरान । अमेरिकी सेनाद्वारा ओमानको खाडीमा जफत गरिएको इरानी कार्गो जहाज त्यगकपब तुरुन्त रिहा गर्न माग इरानले गरेको छ । इरानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको वक्तव्यमा जहाज, चालक दलका सदस्यहरू तथा उनीहरूका परिवारलाई समेत तत्काल रिहा गर्नुपर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उक्त जहाजले अमेरिकी नौसेनाको नाकाबन्दी पार गर्ने प्रयास गरेपछि आइतबार अमेरिकी सेनाले रोक्दै नियन्त्रणमा लिएको हो । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा एक गाइडेड–मिसाइल डिस्ट्रोयरबाट जहाजतर्फ अमेरिकाल गोली प्रहार गरेको अनि त्यसपछि हेलिकप्टरबाट अमेरिकी जल सैनिकहरू जहाजको डेकमा अवतरण गरेको देखाइएको छ ।

इरानले यो घटनालाई “अत्यन्त खतरनाक” र “आपराधिक” कार्य भन्दै कडा निन्दा गरेको छ । विदेश मन्त्रालयले जहाजमा रहेको सामानको मूल्य “करोडौं डलर” बराबर भएको दाबी गरे पनि के सामग्री थियो भन्ने स्पष्ट गरेको छैन । आफ्नो राष्ट्रिय हित, सुरक्षा र नागरिकहरूको अधिकार र सम्मानको रक्षा गर्न इरानले “सबै क्षमता प्रयोग गर्ने” चेतावनी दिएको छ ।

साथै, यदि क्षेत्रमा थप तनाव बढेमा त्यसको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने पनि इरानको भनाइ छ । जहाजमा कति चालक दल थिए र उनीहरूको राष्ट्रियता के हो भन्नेबारे स्पष्ट जानकारी आएको छैन । अमेरिकी मध्य कमाण्ड ९सेन्टकम०ले यसबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन ।