अर्थका कर्मचारीलाई कार्यालयबाहिर सेवाग्राही भेट्न रोक


काठमाडौं, वैशाख ९ । अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याएको छ।

यस आचारसंहिताको मुख्य उद्देश्य कर्मचारीहरूको व्यक्तिगत तथा समूहगत व्यवहारलाई निष्पक्ष, पारदर्शी, अनुशासित, सेवामुखी र मर्यादित बनाउँदै कामको गुणस्तर र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु हो। मन्त्रालयले उक्त आचारसंहिता वैशाख ४ गते नै स्वीकृत गरिसकेको जनाएको छ।

आचारसंहितामा कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा अपनाउनुपर्ने नैतिक आचरणहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। सदाचार सम्बन्धी प्रमुख बुँदाहरू यसप्रकार छन्:

– सेवाग्राही वा सरोकारवालासँग कार्यालय बाहिर व्यक्तिगत भेटघाट नगर्ने।
– कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्टको रूपमा काम नगर्ने।
– आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत वा अरू कसैको स्वार्थ पूरा नगर्ने।
– मन्त्रालयबाट अलग भएपछि परिचयपत्र, कागजात, पासवर्ड, नगद वा अन्य सामग्री अनिवार्य रूपमा फिर्ता गर्ने।
– सरकारी कामका क्रममा भ्रमण गर्दा सेवाग्राहीको खर्चमा कुनै सुविधा नलिने।
– जुवा–तास खेल्ने, मदिरा सेवन गर्ने वा कार्यालयको मर्यादा घटाउने गतिविधिमा संलग्न नहुने।
– सम्बन्धित अधिकारीको अनुमति बिना विदेश भ्रमण, तालिम वा गोष्ठीमा सहभागी नहुने।
– कुनै दातृ निकाय वा संस्थासँग सहयोग माग्दै पत्राचार नगर्ने।
– आफ्ना परिवार वा नातेदारका लागि छात्रवृत्ति वा अन्य सहयोग माग्ने वा स्वीकार नगर्ने।
– आफू वा आफन्तलाई गैरकानुनी लाभ पुग्ने गरी कुनै निर्णय वा सल्लाह नदिने।
– सम्बन्धित अधिकारीको स्वीकृति बिना उपहार वा आतिथ्यता स्वीकार नगर्ने।
– कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीको पालना गर्ने।
– लेखापरीक्षणका लागि आवश्यक कागजात तथा जानकारी उपलब्ध गराउने।
– आफ्नो नाममा रहेको बेरुजु समयमै मिलाउने।
– तोकिएका कार्यसम्पादन सूचक र कार्यविधिअनुसार काम गर्ने।