क्यान्सरबाट पीडित वडाध्यक्षको निधन


काठमाडौं, वैशाख १० । बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ।गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए । विष्टको असामयिक निधनले स्थानीय क्षेत्रमा अपूरणीय क्षति पुगेको गाउँपालिकाले उल्लेख गरेको छ।

पारिवारिका स्रोतका अनुसार दुई वर्षअघि वीर अस्पतालमा उनको टाउकाको अप्रेसन गरिएको थियो। अप्रेसनपछि डाक्टरले उनलाई बढी नबोल्न, आराम गर्न र पटक पटक फलोअप आउन भनेका थिए। तर, घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले उपचारलाई निरन्तरता दिन सकेनन्। उनका दुई छोरा,दुई छोरी र श्रीमति छन्।

Skip This

Omoda E5 Pro