१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न निषेध


एजेन्सी। नर्वेले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने गरी कानुन ल्याउने तयारी गरेको छ । सरकारले यससम्बन्धी विधेयक संसद्‌मा यसै वर्षको अन्त्यसम्म पेस गर्ने जनाएको छ ।

नयाँ कानुन अनुसार सामाजिक सञ्जाल कम्पनीहरूलाई नै प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने जिम्मेवारी दिइनेछ । सरकारले बालबालिकाको डिजिटल जीवन सुरक्षित बनाउन यो कदम चालेको प्रधानमन्त्री जोनास गाहर स्टोएरेले बताएका छन्।

उनका अनुसार बालबालिकाको जीवन खेल, मित्रता र दैनिक गतिविधिमा केन्द्रित हुनुपर्ने भएपनि अहिले एल्गोरिदम र स्क्रिनले त्यसलाई प्रभावित गरिरहेको छ ।

त्यसैले बालबालिकालाई सुरक्षित बाल्यकाल सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको उनले बताएका छन् । विधेयक २०२६ को अन्त्यसम्म संसद्‌मा पास गर्ने लक्ष्य राखिएको छ । सरकारले कुन–कुन सामाजिक सञ्जाललाई प्रतिबन्धको दायरामा ल्याइनेछ भन्ने स्पष्ट गरेको छैन ।

बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउने उद्देश्यले इयूका कयौँ देशहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा निषेध गर्ने खोजिरहेका छन्।

अष्ट्रेलियाले हालै १६ वर्षमुनिका बालबालिकामाझ विश्वमै पहिलो पटक यस्तै प्रतिबन्ध लागू गरेको थियो । यसमा फेसबुक, टिकटक, स्न्यपपच्याट युट्युब, एक्सजस्ता प्लेटफर्महरू समावेश छन्।