काठमाडौं । अमेरिका र इजरायलसँग जारी युद्धका अन्य असरहरूसँगै इरानमा इन्टरनेट प्रतिबन्धका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
इरानमा करिब एक करोड मानिसहरू आफ्नो कामको लागि अवरोधरहित इन्टरनेट सेवामा निर्भर छन्।
प्रारम्भिक अनुमानहरूका अनुसार, इन्टरनेटमा जारी प्रतिबन्धका कारण हालसम्म १० लाखभन्दा बढी रोजगारी गुमेका छन्। केही स्वतन्त्र अनुमानहरूमा यसको असर योभन्दा पनि बढी हुन सक्ने आशङ्का व्यक्त गरिएको छ।
डिजिटल अर्थतन्त्रमा पनि उल्लेख्य नोक्सान हुने अनुमान गरिएको छ। यसका साथै पूर्वाधार र उद्योगहरूमा पनि व्यापक क्षति पुगेको छ।
यता देशमा इन्टरनेट प्रतिबन्धलाई लिएर इरान सरकारभित्रै पनि अन्तर्विरोध देखिएको छ।
इरानका वरिष्ठ मन्त्रीहरूले इन्टरनेट प्रतिबन्धका कारण नागरिकहरूको रोजगारी गुम्ने र यसको सामाजिक तथा आर्थिक असरबारे चेतावनी दिएका छन्।
इन्टरनेटको पहुँच भेदभावपूर्ण भएको भन्दै गम्भीर आपत्ति पनि जनाइएको छ, तर यसका साथसाथै सरकारकै वरिष्ठ अधिकारीहरूले विशेष परिस्थितिका कारण इन्टरनेट पुनर्बहाली गर्न नसकिने दाबी पनि गरिरहेका छन्।
यसै कारण मानिसहरूलाई धैर्य गर्न पनि भनिँदैछ।
भेदभावपूर्ण व्यवस्थाविरुद्ध चेतावनी

इरानी अधिकारीहरू र मिडिया रिपोर्टहरूका अनुसार, अमेरिका र इजरायलसँगको युद्धको आर्थिक असर गहिरिँदै गइरहेको छ। यसको दबाब रोजगारी, डिजिटल अर्थतन्त्र र प्रमुख उद्योगहरूमा लगातार बढिरहेको छ।
पछिल्लो चिन्ता देशभर इन्टरनेटमा भएको अवरोधलाई लिएर छ, जुन अब ५४औँ दिनमा प्रवेश गरिसकेको छ। वरिष्ठ अधिकारीहरूले समान र निष्पक्ष पहुँचको महत्त्वमा जोड दिएका छन्।
इरानको आधिकारिक सरकारी सूचना पोर्टलका अनुसार, प्रथम उपराष्ट्रपति मोहम्मद रजा आरिफले २२ अप्रिलमा इन्टरनेटसम्मको पहुँचलाई विश्वव्यापी अधिकार (सार्वभौमिक अधिकार) को रूपमा मान्यता दिइनुपर्ने बताएका छन्।
उनले कुनै पनि प्रकारको भेदभावपूर्ण वा बहु-स्तरीय व्यवस्था (वर्गअनुसार सेवामा पहुँच) विरुद्ध चेतावनी दिए। यसका साथै उनले युद्धको समयमा शासन र सेवाहरूको आपूर्तिका लागि स्थिर सञ्चार अत्यन्तै जरुरी रहेको बताए।
फरक-फरक तथ्याङ्कहरूले यसको असर श्रम बजारमा पहिले नै देखिन थालिसकेको बताउँछन्। जामारान न्युज वेबसाइटका अनुसार, उप-श्रममन्त्री गुलाम हुसेन मोहम्मदीले प्रारम्भिक अनुमानले युद्धका कारण १० लाखभन्दा बढी रोजगारी गुमेको देखाएको बताएका छन्, जबकि २० लाख मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेरोजगारीको सामना गरिरहेका छन्।
४० लाख रोजगारी गुमे वा प्रभावित

केही इरानी मिडियाको अनुमानअनुसार आर्थिक नोक्सानको स्तर योभन्दा निकै बढी हुन सक्छ। सन्तुलित दृष्टिकोण राख्ने न्युज वेबसाइट अस्र-ए इरानले एउटा अनौपचारिक अनुमानलाई उद्धृत गरेको छ, जसअनुसार युद्ध र इन्टरनेट बन्दको संयुक्त असरका कारण ४० लाखसम्म रोजगारी गुमेका छन् वा प्रभावित भएका छन्।
सोही रिपोर्टमा पूर्वाधार र उद्योगहरूमा ठूलो मात्रामा भएको नोक्सानको दाबी पनि उल्लेख छ, यद्यपि यो कुन कार्यपद्धति (मेथडोलोजी) को आधारमा भनिएको हो भन्ने खुलाइएको छैन।
इरानको डिजिटल अर्थतन्त्रमा भएको अनुमानित नोक्सान २,१५० ट्रिलियन रियाल (१.६९ अर्ब डलर) सम्म पुगिसकेको छ।
दैनिक हुने नोक्सानको मूल्याङ्कनअनुसार डिजिटल कोरलाई ५ ट्रिलियन रियाल (३.९ मिलियन डलर) को नोक्सान भएको छ र सम्पूर्ण अर्थतन्त्रलाई ५० ट्रिलियन रियाल (३९.२ मिलियन डलर) को। घरेलु प्लेटफर्महरूले मागलाई धान्न नसकेको बताइएको छ, जसले क्षमताको गम्भीर अभावतर्फ सङ्केत गर्छ।
अवस्थाका लागि जिम्मेवार को ?
अधिकारीहरूले इन्टरनेट प्रतिबन्धलाई युद्धकालको आवश्यकता बताउँदै सही ठहराउने प्रयास गरेका छन्।
सरकारको जनसम्पर्क परिषद्का प्रमुख एलियास हजरतीले द्वन्द्व सकिएपछि मात्र इन्टरनेट पहुँच पूर्ण रूपमा पुनर्बहाली गरिने बताए। उनले ‘विशेष परिस्थिति’का कारण जनतालाई धैर्य गर्न अपिल गरे।
२१ अप्रिलमा सञ्चारमन्त्री सत्तार हासेमीले स्थिर र उच्च गुणस्तरको इन्टरनेट पहुँच एक ‘सार्वजनिक अधिकार’ भएको बताएका थिए।
खबर अनलाइन न्युज वेबसाइटका अनुसार, उनले यी अवरोधहरू प्राविधिक मात्र नभई धेरै क्षेत्रहरूमा फैलिएको ‘प्रणालीगत’ (व्यवस्थागत) गडबडी भएको चेतावनी दिए।
हासेमीले भने- करिब १ करोड मानिसहरू, जसमा धेरैजसो मध्यम र निम्न आय वर्गका छन्, उनीहरू आफ्नो कामको लागि प्रत्यक्ष रूपमा भरपर्दो डिजिटल कनेक्टिभिटीमा निर्भर छन्।
उनले चेतावनी दिए- निरन्तरको यो अस्थिरता उनीहरूको रोजगारीका लागि प्रत्यक्ष खतरा हो र यसले व्यापक सामाजिक तथा आर्थिक असर पार्न सक्छ।
उनले दूरसञ्चार क्षेत्रमा परिरहेको वित्तीय दबाबलाई पनि इङ्गित गर्दै भने कि केही अपरेटरहरूको आम्दानी घटिरहेको छ र उनीहरूलाई कर्मचारीहरूको तलब दिन समस्या भइरहेको छ।
(बीबीसी हिन्दीबाट)




प्रतिक्रिया