‘मेड इन युरोप’ योजनाप्रति चीनकाे तीव्र असन्तुष्टि


काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । विशेषगरी रणनीतिक क्षेत्रहरूमा विदेशी कम्पनीहरूलाई सीमित गर्ने खालका प्रावधानले चिनियाँ कम्पनीहरूको हितमा प्रत्यक्ष असर पर्ने भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ को संज्ञा दिएको छ ।

इयुले गत मार्चमा सार्वजनिक कोषमा पहुँच चाहने कम्पनीहरूका लागि नयाँ नियमहरू सार्वजनिक गरेको थियो, जसअनुसार कार, हरित प्रविधि र इस्पात जस्ता क्षेत्रहरूमा काम गर्ने कम्पनीहरूले निश्चित मात्रामा इयुभित्रै उत्पादन गरिएका सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यो प्रस्ताव लामो समयदेखि चलिरहेको छलफल र विवादपछि आएको हो, जसको लक्ष्य युरोपेली उद्योगको प्रतिस्पर्धात्मक क्षमता पुनःस्थापित गर्नु, औद्योगिक गिरावट रोक्नु र रोजगारी जोगाउनु रहेको छ क।

चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा इयुको प्रस्तावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युरोपेली कमिसनसमक्ष आफ्ना टिप्पणीहरू पेश गरिसकेको जनाएको छ । यदि इयुले यो योजना लागू गरेमा चिनियाँ उद्यमहरूको वैध अधिकार र हितमा क्षति पुग्ने भन्दै चीनले आवश्यक परे प्रतिरोधात्मक उपायहरू अपनाउने स्पष्ट सङ्केत दिएको छ ।

इयुभित्रका व्यवसायहरूले भने लामो समयदेखि भारी सरकारी अनुदान पाएका चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको गुनासो गर्दै आएका छन् । यसै पृष्ठभूमिमा ‘इन्डस्ट्रियल एक्सेलेरेटर एक्ट’ नाम दिइएको यो प्रस्तावले विदेशी कम्पनीहरूलाई युरोपेली साझेदारसँग सहकार्य गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य बनाउने व्यवस्था पनि समेटेको छ, जसले विशेषगरी चिनियाँ ब्याट्री र विद्युतीय सवारी उत्पादकहरूलाई असर पार्ने देखिन्छ ।

यसैबीच, इयुका लागि चिनियाँ चेम्बर अफ कमर्सले पनि उक्त योजना संरक्षणवादी नीतितर्फको सङ्केत भएको भन्दै यसले दुई पक्षबीचको व्यापारिक सहकार्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।