वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने दैलेख नौमुले गाउँपालिका-८ घर भएका २९ वर्षीया ज्वाला कुमारी चन्द, कास्की पोखरा महानगरपालिका-१२ घर भएका ३९ वर्षीया भीम कुमारी गुरूङ र काठमाडौं टोखा नगरपालिका-८ बस्ने गोरखा सिरानचोक गाउँपालिका-६ घर भएका ३७ वर्षीय भगवानराज मल्ल ठकुरी रहेका छन् ।

पक्राउ मध्ये ज्वालाले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३४ हजार रूपैयाँ, भीम कुमारीले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र भगवानराजले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालालाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार, भीम कुमारीलाई काठमाडौं महानगरपालिका-२६ बाट र भगवानराजलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।