रसुवा, १६ वैशाख । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवबाट यहाँका किसान उत्साहित भएका छन् ।
चौँरीगाईपालन व्यवसायलाई प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट चौँरीको चीज, दूध, दही, छुर्पीलगायतका परिकार बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्न र उच्च हिमाली भेगमा आधारित पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने लक्ष्यसहित यही वैशाख १३ देखि १५ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो । आमाछोदिङ्मो–३ गतलाङस्थित वाङ्चो माने र यार्चामाने वन उपभोक्ता समितिअन्तर्गतको जङ्गललाई चरिचराउ क्षेत्रका रुपमा विकास गर्न समेत महोत्सवबाट मद्दत पुग्ने छ ।
गतलाङ क्षेत्रमा चौँरीसँगै भेडाबाख्रापालनसमेत हुने भएकाले भेडाको ऊनबाट उत्पादन हुने राडी, पाखी, गलैँचा, स्विटर, पटुका तथा टोपीजस्ता सामग्रीको बजारीकरणबारे महोत्सवमा जानकारी गराइएको गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष सुरेन्द्र तामाङले बताए ।
स्थानीय परम्पराअनुसार हिउँदमा चौँरीगाईलाई बारीमा राख्ने र वर्षायाममा उच्च हिमाली जङ्गल क्षेत्रमा चराउने चलन अझै कायम छ । पशुलाई वर्षायाममा चार हजार मिटर आसपाससम्मको चरन क्षेत्रमा लैजाने गरिन्छ ।
आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले पशुपालक किसानलाई आवश्यक प्रविधि, बजारीकरण र पूर्वाधार सहयोग उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले वनजङ्गलको संरक्षणसँगै पशुपालन व्यवसाय अघि बढाउनुपर्नेमा जोड दिए ।
स्थानीय फुर्पु तामाङका अनुसार तीन दिनसम्म सञ्चालन भएको महोत्सवले किसानको आत्मविश्वास बढाउनुका साथै चौँरीपालन व्यवसायप्रति नयाँ पुस्तालाई आकर्षित गरेको छ । रासस




प्रतिक्रिया