अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु


काबुल, १७ वैशाख । अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तको सुन खानीमा विस्पोटहुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरहरूले सुन खोजिरहेको समयमा दुर्घटना भएको हो । विपद् व्यवस्थापनका लागि प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले मृतकको सङ्ख्या पाँच पुगेको पुष्टि गर्दै थप पीडितहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।

दुर्गम बदखसन जिल्ला खनिज स्रोतहरूमा धनी जिल्ला भएता पनि अनियमित र खतरनाक खानी जन्य उत्खनन्ले समस्याग्रस्त क्षेत्रको रुपमा परिचित रहेको जनाइएको छ ।

उच्च गरिबीले ग्रस्त अफगानीस्थानको खानी क्षेत्रमा यस्ता दुखद दुर्घटनाहरू पटक–पटक हुने गरेको पाइन्छ भने परम्परागत र अनियमित खानी उत्खनन्को अभ्यासले आधुनिक मेसिनरी र व्यावसायिक सुरक्षा मापदण्डको अभावमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको जनाइएको छ । रासस