एमालेमा ‘भुसको आगो’– लज्जास्पद हारपछि नेतृत्व फेर्ने रस्साकस्सी


काठमाडौँ । फागुन २१ को निर्वाचन परिणामले नेकपा एमालेभित्र ठूलै राजनीतिक परकम्प ल्याइदिएको छ । संसदीय इतिहासकै सबैभन्दा ‘लज्जास्पद’ हार व्यहोरेपछि एमालेभित्र नेतृत्व फेरबदल र विशेष महाधिवेशनको माग ‘भुसको आगो’झैँ फैलिँदै गएको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा ९ सिटमा खुम्चिनु र काठमाडौँका अधिकांश क्षेत्रमा जमानत जफत हुनुले बालकोटको ‘अजेय’ विरासतमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको ‘अविचलित’ नेतृत्व र ७० वर्षे उमेर हद हटाएर सत्ता र शक्तिमा कायम रहने मोहले पार्टीलाई रसातलमा पुर्‍याएको निष्कर्षसहित दोस्रो र तेस्रो तहका नेताहरू यतिबेला विद्रोहको मुडमा देखिएका छन् ।

इतिहासकै कमजोर नतिजा र साखको संकट
२०४८ सालयताकै सबैभन्दा कमजोर चुनावी नतिजा एमालेका लागि अहिले सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । २०७९ को निर्वाचनमा झन्डै साढे २८ लाख समानुपातिक मत पाएको एमाले यसपटक १४ लाख ५५ हजारमा खुम्चिनु सामान्य ह्रास होइन, यो जनमतको पहिरो हो ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्न तयार पारिएको मस्यौदामा उल्लेख छ— “राजधानीमै पार्टीको जमानत जफत हुनु र प्रत्यक्षमा ९ सिटमा सीमित हुनुले वर्तमान नेतृत्व र कमिटी प्रणालीप्रति जनताको पूर्ण अविश्वास प्रकट भएको छ ।” उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा उम्मेदवारको धरौटी नै जोगिन नसक्नुले एमालेको शहरी मध्यमवर्गीय जनमत ‘नयाँ शक्ति’ र ‘स्वतन्त्र’ तर्फ मोडिएको प्रस्ट पार्छ ।

जेन–जी आन्दोलन र ओलीसँगको मोहभंग
एमालेको यो पतनको एउटा प्रमुख कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नेतृत्वले निर्वाह गरेको भूमिकालाई मानिएको छ । युवा पुस्ताको स्वतःस्फूर्त आन्दोलनलाई दमन गर्ने र त्यसलाई ‘अराजकता’ को बिल्ला भिराउने नेतृत्वको हठले नयाँ मतदातामा एमालेप्रति तीव्र घृणा पैदा गर्‍यो ।

पार्टीभित्रका युवा र बौद्धिक नेताहरूको ठहर छ— नेतृत्वले समयको पदचाप बुझ्न सकेन । डिजिटल युगका युवाहरूको मनोविज्ञान बुझ्नुको सट्टा दमनको सहारा लिँदा त्यसको सीधा असर मतपेटिकामा देखियो । यही ‘मोहभंग’ का कारण आज एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।

पार्टीभित्र चुलिएको यो अन्तद्वन्द्वमा अर्को शक्तिकेन्द्रको पनि प्रवेश भएको छ । स्रोतका अनुसार, ओलीलाई नेतृत्वबाट हटाएर पार्टी पुनर्गठन गर्ने अभियानमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘भित्री साथ’ छ । एमालेको आन्तरिक सत्तामा भण्डारीको प्रभाव अझै निर्णायक छ र उनले अब पार्टीलाई नयाँ शिराबाट लैजानुपर्नेमा जोड दिएकी छन् ।

ओलीनिकट मानिने र ‘पर्ख र हेर’ को रणनीतिमा रहेका नेताहरू पनि यसपटक कित्ताकाटमा उत्रिएका छन् ।

नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेल नेतृत्वको विकल्पबारे मौन तर आन्तरिक संवादमा सक्रिय रहेको बताइन्छ। यसैगरी नेताहरु गोकर्ण विष्ट र योगेश भट्टराई पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने र नेतृत्व हस्तान्तरण हुनुपर्ने अडानमा प्रस्ट रहेको पाइन्छ ।

हिरासत र नैतिक संकट
निर्वाचनको समीक्षा नहुँदै अध्यक्ष ओली प्रहरी हिरासतमा पुग्नुले एमालेलाई थप नैतिक संकटमा धकेलेको विश्लेषण गरिएको छ । एकातिर चुनावी पराजयको आक्रोश र अर्कोतिर नेतृत्वको कानुनी झमेलाले कार्यकर्ता पंक्ति अलमलमा छ । ओलीपक्षीय कट्टर नेताहरू यसलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै ढाल बन्न खोजेका छन् भने असन्तुष्ट पक्षले यसलाई ‘नेतृत्वबाट सन्यास लिने उपयुक्त अवसर’ का रूपमा चित्रण गरेका छन् ।