काठमाडौं, वैशाख १९ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारको सिफारिसमा राष्ट्रपतिले एकपछि अर्को अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन्।
संसद् अधिवेशन छलेर अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले राष्ट्रपतिको कदम र संसद्को औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले समाजिक सञ्जालमा लेखेका छन, राष्ट्रपतिले रोक्नु पर्दैन अध्यादेश १ के खाल्को रैछ यार? सदन किन चाहियो नत्र?
त्यस्तै, उनले फेसबुकमा अर्काे धारणा सार्वजनिक गर्दै ‘राष्ट्रपति पनि सरकारले जे ल्यायो पास गरेर बस्छ’ भन्दै आलोचना गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार मात्रै मन्त्रिपरिषद्को सिफारिसमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका थिए।
राष्ट्रपति पौडेलले यसअघि पनि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद प्रक्रियासम्बन्धी अध्यादेशहरू जारी गरिसकेका छन्।




प्रतिक्रिया