रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छने एजेन्डा


काठमाडौं, वैशाख २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा दिउँसो साढे १२ बजे बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, पार्टीले आगामी राजनीतिक र सांगठानिक रणनीतिका विषयमा छलफल हुँदैछ ।

आगामी स्थानीय निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार कसरी चयन गर्ने भन्ने विषयमा रास्वपाले नयाँ विधि र मापदण्ड तयार गर्ने र पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि महाधिवेशन कार्यविधि २०८३ का सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकले संसदीय दलको विधान संशोधनका विषयलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।