कुनै छद्म उद्देश्यका लागि नभई द्रुत गतिमा काम गर्न अध्यादेश ल्याइएको हो : कानुनमन्त्री गौतम


काठमाडौं, वैशाख २० । कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टताका कारण काममा अवरोध भइरहेको जनाउदै सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दापनि द्रुत प्रक्रियामा—तीनदेखि चार महिना लाग्ने भएकाले तत्काल समाधानका लागि अध्यादेश ल्याइएको स्पष्ट पारेकी छिन्।

उनले विधिको शासनअनुसार सरकार पनि कानुनकै अधीनमा रहने उल्लेख गर्दै विधायिकाले बनाएको कानुनअनुसार नै कार्य सञ्चालन हुने जनाएकी छन्। संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन संरचना व्यवस्था गरेको र संघीय संसद् प्रतिनिधि सभा तथा राष्ट्रिय सभा गरी दुई सदनात्मक रहेको स्मरण गराउदै उनले सरकारले ल्याएको विधेयक संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र ऐन बन्ने जनाएकी छन् । संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल आवश्यक कामका लागि संविधानको धारा ११४ अनुसार अध्यादेश ल्याउन सकिने व्यवस्था रहेको उनको भनाई छ ।

अध्यादेशको दुरुपयोग भएको विगतका घटनाका कारण आलोचना हुनु स्वाभाविक भएको स्वीकार्दै उनले वर्तमान सन्दर्भ फरक रहेको दाबी गरेकी छन् । संसद्मा करिब दुईतिहाइ बहुमत भएकाले कुनै निर्णय लुकाएर गर्नुपर्ने अवस्था नरहेकाले अध्यादेश कुनै छद्म उद्देश्यका लागि नभई कामलाई तीव्र र प्रभावकारी बनाउनका लागि ल्याइएको जनाएकी छन् ।