प्रहरी महानिरीक्षक कार्कीद्वारा नवनिर्मित भवन उद्‌घाटन


नवलपरासी पूर्व । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  

उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । 

 प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिक र प्रहरीको साझा सम्पत्ति भएकोले यसको संरक्षण पनि नागरिक र प्रहरी दुबैको दायित्व भएको उल्लेख गर्दै शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखि ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिँदै नागरिकहरूलाई ट्राफिक नियमको पूर्णरूपमा पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्ण प्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारको विनियोजित बजेटबाट कुल ३ करोड २ लाख १२ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 

उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।