काठमाडौं । ‘बच्चाको लागि ‘रोल नं १’ बन्नु पर्छ भन्ने दबाब कति घातक हुन सक्छ भन्ने यो फिल्मले देखाउला जस्तो लाग्छ । हरेक अभिभावकले हेर्नै पर्ने फिल्म । धन्यवाद टिमलाई, यस्तो सशक्त कथा ल्याएकोमा’ चलचित्र ‘रोल नं १’को टिजर हेरेर जनम क्षेत्री युट्युबमा कमेन्ट गर्छन् ।
जनमलाई जस्तै ‘रोल नं १’ले उठाएको विषयवस्तु मन परेको छ, सुजनलाई । टिजरमा उनी कमेन्ट गर्छन्, ‘किताबका पानाभित्र मात्र होइन, जीवनका संघर्षहरूमा लेखिएको कथा हो, यो हरेक विद्यार्थीको मौन मुस्कान पछाडि लुकेको पीडा र सपना हो । बुवा, आमा र शिक्षकको आँखाले मात्र होइन, मनले पनि महसुस गर्नुपर्ने सिनेमा । जेठ १५ नछुटाउनुहोस् !’
सुजनले आफू मात्रै हेर्ने कुरा गरेनन्, अरुलाई हेरेर यो सिनेमाले उठाएको विषय महसुस गर्न पनि सुझाए ।
आर्यन सुनार यो सिनेमाको सम्भावित बिजनेसको कुरा गर्छन् । उनले यो सिनेमामा ‘पूर्ण बहादुरको सारङ्गी’को बिजनेसको झल्को देखिरहेका छन् । उनी लेख्छन्, ‘ राम्रोसँग प्रचारप्रसार गर्यो भने यो फिल्मले धेरै राम्रो बिजनेस गर्छ, नेक्स्ट पूर्ण बहादुरको सारङ्गी जस्तै हुन्छ । तर प्रचारप्रसार एकदम व्यापक गर्नुपर्छ । फिल्मको कहानीमा दम छ ।’
कालु बिश्वकर्मालाई ‘रोल नं १’ दुई कारणले मन पराएका छन् । एक– यो हरेक गरिब विद्यार्थीको कथा हो । दुई उनको गाउँकामा सुटिङ भएको सिनेमा हो । त्यसैले उनी कमेन्ट गर्छन्, ‘हरेक गरिब विद्यार्थीको कथा हो । हाम्रो गाउँमा सुटिङ भएको हो ।’ त्यसैले यो सिनेमा उनलाई आफ्नै जस्तो लागेको छ । दर्शकले मुकुन भुसाल र रेणु योगीको अभिनयको तारिफ गरिरहेका छन् ।
दर्शक स्वयंले ‘रोल नं १’को कथा, यसको प्रदर्शन मिति र सम्भावित बिजनेसको कुरा गरिरहेका छन् । सिनेमाले उठाएको विषयको तारिफ गरिरहेका छन् । त्यसैले यो चलचित्रको वर्ड अफ माउथ राम्रो हुने संकेत देखिरहेको छ ।
जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
चलचित्रका लेखक महेश दवाडी हुन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रका सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
हिमाली जिल्ला म्याग्दी जिल्लाका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा छायांकन गरिएको चलचित्रका डीओपी शिव राम श्रेष्ठ हुन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको पृष्ठभूमि संगीत (बीजीएम), फिरोद खड्का चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशी प्रोडक्सन हेड रहेका छन् । सम्पादन मदन घिमिरेले गरेका हुन् ।
‘रोल नं १’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसका अवसरमा प्रदर्शनमा आउनेछ । निर्माणपक्षका अनुसार चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन् ।




प्रतिक्रिया