काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले लामो राजनीतिक यात्रापछि जनताको सेवामा समर्पित हुँदै आएको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। उनले प्रदेश सरकारका कामकारबाहीमा खर्च नियन्त्रण, आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा गरिएको छापामारबारे बोल्दै उनले कानुनी प्रक्रिया र संवैधानिक व्यवस्थाअनुसार हुने कुनै पनि अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारे। “राज्यका निकायले कानुनअनुसार गर्ने अनुसन्धानमा मेरो समर्थन रहनेछ,” उनले भनेका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेशवासीलाई अनावश्यक हल्ला र भ्रममा नपर्न आग्रह गर्दै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्।





प्रतिक्रिया