मुख्यमन्त्री बानियाँको घरमा छापा मारेकोप्रति कांग्रेसकाे आपत्ति


काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरमा छापा मारेकोप्रति आपत्ति जनाएको छ। सोमबार हेटौँडा उपमहानगरपालिका ५ सानोपोखरा स्थित बानियाँ निर्माण सेवा र सोही कम्पनीसँगै रहेकोे निजी निवासमा छापा मारेर महत्त्वपूर्ण कागजातहरु नियन्त्रणमा लिइएको थियो ।

काठमाडौँस्थित बानियाँको घरमा समेत विभागले छापा मारेपछि सोमबार साँझ मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना समेत नदिई छापामार शैलीको अनुसन्धान कार्य अघि बढाएको भन्दै आपत्ति जनाएको हो।

दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आबद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दलका नेतामाथि लगाइएको आरोपको संवैधानिक र कानुनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानबिन गर्न आग्रह गर्ने।’

त्यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आयोजना छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय पनि गरेको छ।

प्रदेश सरकारले आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यका माग, क्षेत्रगत सन्तुलन तथा भौगोलिक अवस्थालाई आधार बनाएर प्राथमिकता निर्धारण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।