काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित रुपमा ‘फेक न्युज’ फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको बताएका छन् । ‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ ।,’ उनले भनेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा खरेल सञ्चारमन्त्री थिए । त्यहीबेला उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो ।
यसै समाचारलाई लिएर उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न आग्रह गरेका छन् ।
हाल रास्वपाका सांसद खरेल ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
यस्तो छ उनको भनाइ
प्रिय शुभचिन्तकहरु,
अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला ।
अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ ।
बाँकी कानूनी उपचार खोज्ने छु…।




प्रतिक्रिया