ज्ञानेन्द्र शाही र इजरायली राजदूतबीच भेटवार्ता,के भयो कुराकानि ?


काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासबीच शिष्टाचार भेटवार्ता भएको छ।

उनीहरुबीच बिहीबार सिंहदरबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

राप्रपा नेता शाहीले नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, सन्तुलित र शान्तिपूर्ण परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै नेपाल–इजरायल सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सहकार्यका आधारमा अझ प्रगाढ बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए।

यससँगै शाहीले रोजगारीका लागि प्रक्रिया पूरा गरेर पनि जान नपाएका नेपाली कामदारको अवस्थाबारे चासो व्यक्त गर्दै प्रक्रियालाई छिटो टुंग्याउन आग्रह गरेका थिए।