प्रधानन्यायाधीश सिफारिसमा हर्क र उपसभामुखको फरक मत,जनाए आपत्ति !


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधान न्यायाधीश सिफारिसमा उपसभामुख रुबीकुमारी ठाकुरले गरेको हस्ताक्षर खेदपूर्ण रहेको टिप्पणी गरेका छन् ।

साम्पाङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका हुन् ।

अध्यक्ष साम्पाङले वरीयता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरको कदमप्रति खेद प्रकट गरेका छन् । ‘हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष साम्पाङले संसद्लाई छलेर र राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरिनु आफैँमा गलत कदम भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसङ्ग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ ।’