संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो


काठमाडौं, वैशाख २५ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ । वर्षे अधिवेशनका रूपमा लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ ।

हरेक वर्ष जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहँदै आएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बजेट अधिवेशनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

बजेट प्रस्तुत गर्ने समय नजिकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफललाई तीव्र पारेका छन् । यसपटकको बजेटलाई रुपान्तरणकारी बनाउने सरकारको तयारी रहेको छ । मुलुकको अर्थतन्त्रलाई गति दिने र सुधारलाई नयाँ चरणमा लैजाने उद्देश्यका साथ अर्थमन्त्रीले विभागीयमन्त्री र सचिवहरूसँग छलफल गरिसकेका छन् । सबै मन्त्री र सचिवहरूसँग एकसरो छलफल सकेर अर्थमन्त्री डा. वाग्लेले सांसदहरू तथा अन्य सरोकारवालाहरूसँग छलफललाई तीव्र पारेका छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्बबराबरको बजेट सिलिङ तय गरेको छ । अर्थमन्त्री डा वाग्लेले गत चैत तेस्रो सातामा नै राजस्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका थिए ।

सोही समितिले विनियोजन विधेयकको मस्यौदा तयार गर्ने काम गरिरहेको छ । समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरू सदस्य रहेका छन् । यसपटकको बजेट सन्तुलित र नयायोचित हुने भन्दै अर्थमन्त्रीले बजेट माग्न धेरै दौडधुप नगर्न सांसदहरूसँगको छलफलमा आग्रह गरेका छन् । सरकारले स–साना आयोजनामा बजेट विनियोजन नगर्ने स्पष्ट पार्दै अर्थमन्त्रीले धेरै दौडधुप नगर्न यसअघि नै आग्रह गरिसकेका छन् ।