एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा


काठमाडौँ, २८ वैशाख । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ ।

विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।

लामो समयदेखि क्यानाडामा प्राध्यापन गरेका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन भएका हुन् ।

त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना, रोशन भट्टराई र जयप्रसाद हुमागाईं चयन भएका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारी र महासचिव चूडामणि भट्टराईले एनआरएनएको प्रतिस्पर्धी संस्था नभई त्यसले समेट्न नसकेका विश्वभरका नेपाली मूलका मानिसहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा जोड्ने एउटा साझा चौतारीका रुपमा एएनओ आएको स्पष्ट गरे ।

नवनिर्वाचित अध्यक्ष चित्र प्रधानले क्यानाडामा रहेका नेपाली, भूटानी तथा भारतीय नेपाली भाषी समुदायलाई एकजुट बनाउँदै नेपाली कला र संस्कृतिको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, कोषाध्यक्ष इन्दिरा रिजाल, प्राध्यापक डा तुलसी धरेल, डा गोविन्दसिंह रावत, प्राध्यापक डा राजेन्द्र पन्थीलगायतले नवगठिन कार्यसमितिलाई शुभकामना दिएका थिए । रासस