काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले रास्वपालाई आफ्नो विगतबारे स्मरण गराएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि आफुहरुले जोगाउन नसकेको जानकारी गराएका हुन् ।
‘‘०६४सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन ।’
प्रचण्डले १८२ सिट प्राप्त गरेका रास्वपालाई संख्या स्थायी नहुने पनि बताए । उनले भने ‘संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै ।’
उनले निषेध, अपमान र प्रतिशोधको राजनीतिले भन्दा विश्वास र सहकार्यले प्राथमिकता पाउनुपर्ने कुरामा पनि जोड दिए ।




प्रतिक्रिया