काठमाडौं, वैशाख २९ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को अध्यक्षको पदभार ग्रहण गरेकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले एनटिएनसीको अध्यक्षको जिम्मेवारी प्रदान गरेसँगै मन्त्री चौधरीले आज पदभार ग्रहण लगत्तै ‘शून्य सहनशीलता’ नीति लागू गर्न, पारदर्शी र उत्तरदायी ढंगले काम गर्न निर्देशन दिएकी छन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शाहले मन्त्री चौधरीलाई जिम्मेवारी दिएका हुन् ।
मन्त्री चौधरीले संरक्षण क्षेत्रमा कोषले पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र नमुना संस्था बनाउनु पर्ने जोड दिइन्। कार्यक्रममा सचिव, विभागीय प्रमुख तथा एनटीएनसीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
राज्यलाई थप आर्थिक व्ययभार नपरोस् भन्ने उद्देश्यले विगतमा वनमन्त्रीलाई नै कोषको अध्यक्ष बनाउने प्रचलन रहँदै आएको थियो । तर, चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सरकार बन्नुअघि रातारात आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई पाँच वर्षका लागि कोषको अध्यक्षमा मनोनीत गरेकी थिइन् । आफ्ना स्वकीयलाई नै कोषमा मनोनीत गरेपछि प्रधानमन्त्री कार्कीको आलोचना समेत भएको थियो ।
तर, राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ सँगै अघिल्लो सरकारबाट राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुँदा श्रेष्ठको पनि डेढ महिनामै पद गएको थियो ।




प्रतिक्रिया