चुनावी वाचा विपरीत रास्वपा: सांसदहरूले अझै बुझाएनन् सम्पत्ति विवरण !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले २१ फागुनको निर्वाचन अघि जनतामाझ चुनावी वाचा सार्वजनिक गरेको थियो । रास्वपाले सार्वजनिक गरेको १०० बुँदे वाचापत्रको बुँदा नम्बर १६ मा सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाइएको छ । जहाँ भनिएको छ, ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं ।’

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्छ ।

तर,रास्वपाले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने वाचा गरेपनि आफ्नै पार्टीका सांसदहरूले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । प्रतिनिधिसभामा रास्वपाको १८२ जना सांसद् छन् । संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले दिएको जानकारी अनुसार ५८ जना सांसदले मात्रै आफ्नो सम्पति विवरण बुझाएका छन् ।

रास्वपाका १८२,नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक जना स्वतन्त्र सांसद गरी प्रतिनिधिसभामा २७५ सांसद छन् ।

संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले सांसदहरूलाई आगामी जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन सूचना यसअघि नै सूचना जारी गरिसकेको हुँदा सम्पत्ति विवरण बुझाउने समय भने बाँकी नै छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुजर्ने व्यवस्था छ ।