‘प्रधानमन्त्री ज्यू,अब रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ, बाटो बन्नुपर्यो’:सांसद थेबे


काठमाडौँ । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रधानमन्त्री बालेन शाहले चुनाव अगाडि बोलेको अभिव्यक्तिलाई लिएर संसदमा कटाक्ष गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो निर्वाचन क्षेत्रका ‘ताप्लेजुङ डायरी’ प्रस्तुत गर्दै उनले जिल्लाको विकास र विपद्को अवस्थालाई लिएर संसदमा सरकारको कडा आलोचना गरे ।

हावाहुरीले विद्यालय र घरका छाना उडाएको तथा असिनाले बालीनाली सखाप पारेको भए पनि अहिलेसम्म पीडितले राहत नपाएको भन्दै सरकारमाथि आक्रोश पोखे ।

‘‘के गर्ने के नगर्ने उकुसमुकुस भएको छ । हावाहुरीले स्कुल तथा घरका छाना लगेको छ । असिनाले बालीनाली सखाप। जनता अघाध मारमा छन् । आजसम्म राहत छैन । यता हेर्‍यो खानेपानी समस्या उता सिँचाइका समस्या । एकातिर कृषकको अर्कोतिर श्रमिकको । युवाको बेरोजगार र जनताको गरिबी उत्तिकै महँगी र मूल्य वृद्धि त्यत्तिकै । विकास निमर्माणका असीमित छन् । हो अब रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ की खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्छ,’ उनले थप भने ‘झसङ्ग ब्युँझिन्छु, प्रधानमन्त्री ज्यू समय आयो । पाथीभरसडक चुनाव अगाडी तपाइँको यात्रा भएको सडक १० वर्ष भयो अलपत्र परेको । तमोर करिडोर हुँदै ओलाङ्चुङगोला तिप्तला नाका सडक सडक याफ्दुङ् हुँदै कन्चनजङ्गा बेसक्याम्प सडक, मदनभण्डारी सडक, गुफा पोखरी सडक , चुवाभन्ज्याङ तिवापोखरी सडक लगायत जसरी पनि बन्नु पर्छ धन्यवाद ।’