काठमाडौँ, ३० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले सो घटनाबारे छानबिन गर्न र तत्काल मर्मत गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । हुरीबतासका क्रममा रुख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो । हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनस्र्थापना गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ ।
१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो । रासस




प्रतिक्रिया