राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ


काठमाडौँ, ३० वैशाख । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि १९ जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्तावसहित आठ वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘राष्ट्रपतिबाट २०८३ वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव राखे ।