महाधिवेशनको कार्यतालिका बनाउन राप्रपाले गर्यो समिति गठन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ,महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

यसैगरी बैठकले आगामी महाधिवेशन,समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समिक्षाका लागि जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ ।