३२औं पटक सगरमाथाको शिखरमा कामिरिता, तोडे आफ्नै रेकर्ड


काठमाडौं, जेठ ३ । ‘एभरेष्टम्यान’ उपनामले विश्वभर कहलिएका विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज (आइतबार) बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गए वर्ष जेठ १३ गते उनले ३१ औँ पटक आरोहण पूरा गरेका थिए । उनले वि.सं २०८१ को यही सिजनमा २९ र ३० औं पटक आरोहण पूरा गरेका थिए । उनले आज ३२ औं पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाको मुख्य पेशा पर्वतारोहण हो । उनी हाई अल्टिच्युड माउन्टेन गाइडको रुपमा कार्यरत छन् ।