भैरहवामा जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ महोत्सव हुने


भैरहवा । नेपाली रैथाने खानाको प्रवर्द्धन गर्ने र विभिन्न समुदायका मौलिक स्वादलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले भैरहवामा दुई दिने विशेष खाना महोत्सव आयोजना हुने भएको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपको आयोजनामा आगामी जेठ ९ र १० गते सिद्धार्थ भिलासा होटलमा ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुन लागेको हो ।

भैरहवा क्षेत्रकै एउटा ठूलो पर्यटकीय र सांस्कृतिक उत्सवका रूपमा हेरिएको यस महोत्सवमा आगन्तुकहरूका लागि स्वाद र मनोरञ्जन दुवैको विशेष प्याकेज तयार गरिएको आयोजकले जनाएको छ । महोत्सवमा नेवारी, हिमाली, थारू, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानाका स्टलहरू रहनेछन् । नेपालको बहुसांस्कृतिक र बहुधार्मिक समुदायका खानालाई नयाँ पुस्तामाझ चिनाउने मुख्य लक्ष्य राखिएको छ । यसका साथै अन्तर्राष्ट्रिय स्वादका पारखीहरूका लागि ुकन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक परिकारहरूसमेत उपलब्ध गराइनेछ ।

महोत्सवमा सिद्धार्थ ग्रुपअन्तर्गत देशका विभिन्न शहरमा सञ्चालित आउटलेटहरूमा कार्यरत उत्कृष्ट सेफहरू भैरहवा आउनेछन् । उनीहरूले आ–आफ्नो क्षेत्रका विशेष परिकारहरू पस्कने र खानाको गुणस्तर एवं स्वच्छतामा उच्च प्राथमिकता दिइने आयोजक पक्षले बताएका छन् ।

महोत्सवका कारण भैरहवा क्षेत्रका स्थानीय सप्लायर्स, किसान र यातायात व्यवसायीहरूले समेत आर्थिक लाभ पाउने र स्थानीय बजार चलायमान हुने अपेक्षासमेत गरिएको छ ।